
पोखरा । कास्की जिल्लामा सार्वजनिक यातायातका साधन भदौ २७ गते रातिदेखि संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यलय कास्कीमा शुक्रबार सम्पन्न सिसिएमसीकोे बैठकले यस्तो निर्णय गरेको हो ।
प्रशासनले जारी गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ गते अर्थात् भोली राति १२ बजेदेखि सकिँदैछ ।
जिल्ला भित्रको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरिएको हो । निर्णय अनुसार सार्वजनिक यातायातमा चढ्ने यात्रुहरुले अनिवार्य मास्क र बसमा ढोकामा नै सेनिटाइजरको व्यवस्था गरिनुपर्नेछ ।
बसभित्र भौतिकदुरी कायम गरी बसको कुल सिट संख्याको ५० प्रतिशतमा मात्र यात्र् राख्न पाइने छ । सार्वजनिक यातायात साधन बिहान ६ देखि साँझ ८ बजे सम्म संचालन गर्न पाइनेछ ।
के गर्न पाइन्छ के पाइदैन?
मानिसहरु भेला हुन, भीडभाड गर्न , जुलुस निकाल्न, जात्रा , महोत्सव, मेला गर्न तथा सबै धर्म संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने ।
विद्यालय, क्याम्पस, सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, फुटसल, व्यूटिपार्लर, जीमखाना, स्पा, सैलुन सञ्चालन वा खोल्न नपाइने ।
स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर निजी सवारीसाधन र जीप ट्याक्सी बिहान ६ देखि साँझ ८ बजेसम्म संचालन गर्न पाइने ।

