
पोखरा । पोखराको सितापाईलमा रहेको पोखरा बृद्धाश्रमलाई थप सुबिधा सम्पन्न बनाउन आवश्यक रहेको पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवि गुरुङ्गले बताएकी छन् ।
पोखरा बृद्धाश्रमले आयोजना गरेको एक छलफल तथा भेटघाट कार्यक्रममा उनले सरकारले एउटा प्रदेशमा एक बृद्धाश्रमको अबधारण अगाडी सारेको शन्र्दभमा आश्रमले थप संरचनाको विकास गर्न जरुरी रहेको र त्यसको लागि पोखरा महानगरपालिको आवश्यक सहयोग हुने उल्लेख गरिन् । सकेसम्म बृद्धबृद्धाहरुलाई घरमै राख्नु पर्दछ । उनीहरु जिउँदो भगवान् हो । तर कतिपय अवस्थामा साहारा बिहीन बाबाआमाहरु भेटिने भएकाले उनीहरुको जिम्मा आश्रमले लिने परिस्थिती रहेको उनको भनाई थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले आश्रमलाई प्रदेशको एक नम्वर बनाउन आफ्नो तर्फबाट सबै प्रकारको सहयोग हुने बताए । आश्रम केवल आश्रय स्थल मात्र होईन, यो पोखरा १७ को पर्यटकीय गन्तब्य पनि हो– उनले भने ।
त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुंगानाले आफ्नो पार्टी सधै बृद्धबृद्धाको पक्षमा रहेको बताए । उनको सुबिधाको लागि राज्य तथा सरकार सँग आवश्यक बजेट बिनियोजनका लागि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पोेखरा बृद्धाश्रमका अध्यक्ष कुुसुम केशब पराजुलीले आश्रमलाई बहु आयामिक रुपमा विकास गर्ने आफ्नो सपना रहेको बताए। त्यसका लागि थप जग्गा आवश्यक रहेको उनले सो अवसरमा जानकारी दिए ।
आश्रममा अहिले ६० जना बृद्धबृद्धाहरुले आश्रय लिन सक्ने क्षमता रहेको छ । सुबिधासम्पन्न आवास तथा भोजन गृह, दिवा सेवा केन्द्रको लागि पनि अवश्यक संरचना तयार भएको छ ।
