
बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोटमा आज बिहान ५ बजे घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।
उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । उनलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ ।
बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीबोटका तीन घर र गोठमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
५ झोलुङ्गे पुलमा क्षति
यस्तै बागलुङको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ ।
गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।
यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्याएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदैआएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ । ताराखोला–१ पूरै र सिले र अर्गलको केही भागबाहेक अन्य स्थान अन्धकार भएको छ । बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्याएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो पनि बगाएको छ ।
