
पोखरा । पोखराका ४ जना सहित गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान जारी गरेको दोस्रो विज्ञप्ति अनुसार पोखराका ४ वटा वडाका ३ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरा ६ का ४५ वर्षीय पुरुष, पोखरा १ की ५० वर्षीया महिला, पोखरा ५ की ३७ वर्षीया महिला र पोखरा २७ की २१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरु चारैजना फिवर क्लिनिकमा परीक्षणका लागि आएका व्यक्ति रहेको निर्देशनालयले जनाएको छ ।
यसैगरी स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान जारी गरेको तेस्रो विज्ञप्ति अनुसार गण्डकीका ५ जिल्लाका २९ जनामा कोरोना पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार लमजुङमा सुन्दरबजारका २ महिला र ८ पुरुष गरी १० जना, नवलपुरमा बिनयत्रिबेणीका ३ महिला र ३ पुरुष गरी ६ जना, तनहुँमा म्याग्देका १ महिला र ३ पुरुष तथा ब्यासका १ पुरुष गरी ५ जना, स्याङ्जामा गल्याङका १ पुरुष र गोरखामा भिमसोथापाका २ महिला र १ पुरुष तथा गोरखा नगरपालिकाका २ पुरुष २ महिला गरी ७ जनामा कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या २ हजार ९ सय ६८ पुगेको छ ।
यसअघि बिहान पोखराका २ जनासहित गण्डकीमा ३२ संक्रमित थपिएका थिए ।


