मगर आदिकवि पुरस्कार साहित्यकार शिवलाल गुरुछान मगर र बेल बहादुर बुढामगरलाई

Share:

पोखरा । मगर भाषाका आदिकवि सुवेदार रेखबहादुर सारूमगरको ७७ औं जन्मजयन्ती तथा पुरस्कार घोषणा कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश र आदिकवि सुवेदार रेखबहादुर सारू मगर स्मृति तथा साहित्य प्रतिष्ठान, तनहुँको संयुक्त आयोजनामा आइतबार साँझ भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा आदिकवि रेखबहादुर सारूमगर साहित्य पुरस्कार–२०७७ बाट साहित्यकार शिवलाल गुरुछान थापामगर र आदिकवि रेखबहादुर सारूमगर साहित्य नवप्रतिभा पुरस्कार–२०७७ बाट साहित्यकार बेल बहादुर बुढा मगरलाई पुरस्कृत घोषणा गरिएको छ ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रका महासचिव ज्ञानेन्द्र पुनमगरले साहित्यकार द्वय गुरुछान थापामगर र सारूमगरलाई पुरस्कृत भएको घोषणा गरिएका हुन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अथिती समेत रहेका पुनमगरले पुरस्कृत दुबै साहित्यकारलाई बधाई तथा शुभकामना व्यक्त गरे । साथै मगर भाषाको सहित्यलाई अझै उठाउन केन्द्र सधैं तयार रहेको र त्यसका लागि सबै मगर संगठनहरु सँग सहकार्य र सहयोग गर्न तयार रहेको बताए ।

यस्तै विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ का कारण भर्चुअल माध्यम (जुम)बाट पुरस्कार घोषणा गर्नु परेपनि उपयुक्त समय पारेर पछि पुरस्कार हस्तान्तरण गरिने नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष धिरेन्द्र थापामगर ‘किसानी’ले जानकारी दिए । उनले रेखबहादुर सारूमगर साहित्य पुरस्कारको राशी ७ हजार ७ र नवप्रतिभा पुरस्कारको राशी ५ हजार ५ रुपैँया नगद तोकिएको जानकारी दिए ।

कार्यक्रममा पुरस्कृत साहित्यकार गुरुछान थापामगरले मगर भाषा, साहित्यको विकासमा आफूले निरन्तर कलम चलाइराख्ने बताउँदै सम्मान र पुरस्कारका लागि धन्यवाद व्यक्त गरे ।

यस्तै अर्का पुरस्कृत साहित्यकार बुढामगरले आफ्ना लेखनको उचित मुल्याङ्कन गरी पुरस्कारको योग्य ठानेकोमा आयोजक प्रति धन्यवाद व्यक्त गरे । साथै उनले कार्यक्रममा आफ्ना केही मगर भाषामा लेखिएका रचना समेत प्रतुत गरेका थिए ।

पुरस्कृत गरुछान थापामगर ढुट भाषाका अग्रज लेखक साहित्यकार तथा पुर्व विज्ञान तथा प्रविधि मन्त्री समेत हुन् भने बुढामगर मगर खाम भाषाका साहित्यकार हुन् ।

यसवर्ष संघको तर्फबाट आदिकवि रेखबहादुर सारूमगर साहित्य पुरस्कार र प्रतिष्ठानको तर्फबाट आदिकवि रेखबहादुर सारूमगर साहित्य नवप्रतिभा पुरस्कार घोषणा गरिएको हो ।

नेपाल मगर लेखक संघ गण्डकी समितीले रेखबहादुर सारूमगर साहित्य पुरस्कारबाट यसअघि अग्रज साहित्यकारहरू फूलकुमारी थापामगर, लोकबहादुर थापामगर, वेदान्त कविरत्न रूद्रबहादुर हितानमगर र उजीर रानामगर पुरस्कृत गरिसकेको छ भने २०७७ मा (यस वर्ष) भने सहित्यकार शिवलाल गुरुछान थापामगर लाई पुरस्कृत घोषणा गरिएको हो ।

पुरस्कृत व्यक्तित्व छनौटका लागि प्रदेश समितिकी निवर्तमान अध्यक्ष बेलीमाया रखाली मगर (गीता)को संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो ।

प्रदेश संघका अध्यक्ष किसानीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा आदिकवि रेखबहादुरको जीवनी वाचन सचिव मीगीन र स्वागत तनहुँ प्रतिस्ठानका अध्याक्ष खड्क आलेमगरले गरेका थिए । त्यस्तै, सम्मानित व्यक्तित्व गरुछान थापामगरका बारेमा संघका सह–सचिव दिपक सिंजाली मगर र बुढामगरका बारेमा प्रतिष्ठानका केशर थापा मगरले प्रस्तुती राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: