संविधान दिवस: प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने, २८९ कैदीबन्दीको कैद माफीमिनाहा

Share:

काठमाडौँ । नेपालको संविधान–२०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ । दिवसको अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ ।

नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । सोही दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ ।

आज हुने विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने बताइएको छ ।

सो विशेष समारोहबाट प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिमका कारण सीमित सहभागीतामा संविधान दिवस मनाउन लागिएको बताइएको छ ।

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागु हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: