एसिड अपराध रोक्न संशोधित कानुन लागू, अब दोषीलाई २० वर्ष जेल

470
0
Share:

काठमाडौँ । तेजाब (एसिड) तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ जारी भएको छ ।

मन्त्रिपरिषद् बैठकले बिहीबार पारित गरेर सिफारिस गरेको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सम्बन्धी अध्यादेश–२०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश–२०७७ राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश जारी गरेकी हुन् ।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरेको हो ।

अध्यादेशमा आँखा, कान, मुख, छाती र यौनाङ्गमा एसिड लागेमा २० वर्ष कैद र दश लाख रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ ।

यस्तै शरीरको कुनै अङ्ग भङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृतिअनुसार पाँच वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाखसम्म जरिबाना हुनेछ । यस्तै सरकारले पीडितको निःशुल्क उपचार तथा रोजगारको समेत व्यवस्था गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: