
पोखरा । सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलिले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति पदमा प्रा.डा. प्रेमनारायण अर्याललाई बुधबार (२०७७ असोज १४ गते) नियुक्त गरेका छन् ।
ऐनबमोजिम उपकुलपतिको पदावधि ४ (चार) वर्षको हुनेछ । नवनियुक्त उपकुलपति अर्यालले आउँदो आइतबार (असोज १८) गते पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा पदबहाली गर्ने कार्यक्रम छ ।
उहाँको जन्म वि.सं. २०११ साल वैशाख १४ गते, आरूचौर गुल्मी जिल्लामा भएको हो । चितवन स्थायी ठेगाना भई काठमाडौं किर्तिपुर बस्दै आएका प्रा.डा. अर्यालले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनी २०३८ सालमा सहायक प्राध्यापकबाट प्राध्यापन सेवा शुरू गरी २०७४ सालमा सेवा निवृत्त भए । उनले बाल विकास शिक्षामा बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।
वरिष्ठ शिक्षाविद् अर्याल काठमाडौं शिक्षा क्याम्पसको संस्थापक क्याम्पस प्रमुख, वि.सं. २०७४ सालमा गठित उच्चस्तरीय शिक्षा आयोगको सदस्य, युनेस्को क्लब राष्ट्रिय महासंघको पूर्व अध्यक्ष, शैक्षिक अनुसन्धान तथा सामाजिक विकासको अध्यक्ष, दक्षिण एशियाली क्षेत्रीय सहयोग केन्द्र (सार्क) को क्षेत्रीय तहको शिक्षासम्बन्धी प्रशिक्षक एवम् नेपाल पब्लिक क्याम्पस संघको पूर्व अध्यक्ष एवम् सल्लाहकार भई कार्यानुभव लिईसकेका छन् ।
साथै उनी हाल नेपाल खुला विश्वविद्यालयको सिनेट सदस्य, सेतो गुँरास राष्ट्रिय बालविकास सेवाको सदस्य र प्रजातान्त्रिक समाज, कीर्तिपुरको अध्यक्षसमेत हुन् । उनले शैक्षिक तथा अनुसन्धानका विषयमा रही भुटानबाहेक सबै सार्क देशहरु लगायत अमेरिका, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, काजकास्थानको भ्रमण गरेका छन् ।
