जेष्ठ नागरिकका लागि सहयोगी बन्दै सेवा केन्द्र

Share:

पोखरा । बुढ्यौली उमेरका कारण घरको पट्यार लाग्दो बसाईमा टोल समाजमा सञ्चालित जेष्ठ नागरिक सेवा केन्द्रहरु जेष्ठ नागरिकका लागि बरदान सावित बन्दै गएको छन् ।

परिवारका सदस्यको सेवा, पेशा र रोजगारीका कारण दिनभर एक्लै समय बिताउदा हुने अत्यार लाग्दो अवस्थालाई जेष्ठ नागरिक सेवा केन्द्रले भगाईदिएको छ ।

त्यस्तै सेवा केन्द्र मध्येको पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा सञ्चालित जेष्ठ नागरिक बैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थल पनि एक हो ।

स्थानीय समाजसेवी ७८ बर्षीय टोपराज ढुडानाको विशेष पहल एवम् समुदायको आर्थिक सहयोगले हालै सञ्चालनमा आएको केन्द्रमा अहिले दैनिक ३० देखि ३५ जना जेष्ठ नागरिक जम्मा हुने गरेका छन् ।

विद्यमान कोरानाको संक्रमणको कारण माक्स, सेनिटाईजरको प्रयोगको साथै सामाजिक दुरी पनि कायम गरिएको ढुंगानाले जानकारी दिए ।

बिहान १०.०० बजेदेखि साँझ ५.०० बजेसम्म सञ्चालन हुने केन्द्रमा जेष्ठ नागरिकको मनोरन्जनका लागि भजन कृतन एवम् सत्संग गर्ने गरिएको छ । केन्द्रमा पोखरा महानगरका १७ लगायत ६, ७ र २१ नं. वडाका आमाबुबा आउने गरेका छन् ।

उनीहरुलाई प्रत्येक दिन चिया, खाजाका साथै फलफुल समेत मिलाएर खुवाउने गरिनुका साथै बेलामौका मिलाएर विभिन्न धार्मिक क्षेत्रको भ्रमण समेत गराउने र सम्मान समेत गरिदै आएको उनले जानकारी दिए ।

जेष्ठ नागरिक मञ्च पोखरा १७ का अध्यक्ष समेत रहेका ढुङ्गानाले सो स्थानको सार्वजनिक जग्गामा तीन लाख ७२ हजारको लागतमा आवश्यक सभा हल समेत निर्माण गरि केन्द्र सञ्चालन गरिएको बताए ।

भवन निर्माणका लागि राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्टो) बाट रु.४० हजार, पूर्वमन्त्री एवम् उद्योगपति हरि पाण्डेबाट रु. ४० हजार, पोखरा १७ का वडासदस्य शान्ता गुरुङबाट रु.३० हजार, समाजसेवी लिलाभक्तबाट १५ हजार ५५५ रुपैयाँ, ज्ञानेन्द्र सुवेदीबाट २१ हजार सहित बिभिन्न १४० जनाले आर्थिक सहयोग गरेका थिए ।

अद्धैत संस्था पोखरा १७ का अध्यक्ष ज्ञानेन्द्र सुवेदीले केन्द्रमा आउने आमाबुबाका लागि दैनिक खाजाको व्यवस्था सहित सरसफाई गर्दै आएका छन् ।

केन्द्रमा आवद्ध जेष्ठ नागरिकलाई भ्रमण एवम् सम्मान गर्नका लागि वडा कार्यालयको सिफारिसमा पोखरा महानगरपालिबाट दुई पटकमा एक लाख ४५ हजार रुपैयाँ प्राप्त भएको जेष्ठ नागरिक मञ्च १७ का उपाध्यक्ष देवीबहादुर थापाले जानकारी दिए ।

दिवा सेवा केन्द्रसँगै जोडिएका दुई वटा कोठामा घरेलु श्रमिक एवम् रोजगारी बालबालिकालाई पठनपाठनको व्यवस्था समेत गरिदै आएको छ । मुलुकका गोरखा, वाग्लुङ, चितवन, काभ्रेपलाञ्चोक, रोल्पा, मुगु, रामेछाप लगायतका १० बालिका सहित २५ जना बालबालिका नियमित अध्ययनरत छन् ।

पोखरा उद्योग वाणिज्य संघद्धारा सञ्चालित वालश्रम न्यूनिकरण कार्यक्रम अन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालकालिकालाई अनौपचारिक शिक्षा प्रदान गरि विद्यालय भर्ना गरिएको छ । तीन जना शिक्षिका सहित आवश्यक खर्च संघले व्यहोर्दै आएको छ ।

स्वास्थ्य परिक्षण तथा शैक्षिक सामाग्री वितरण

यसैबीच तीसौं अन्तराष्ट्रिय जेष्ठनागरिक दिवसको सन्दर्भमा लायन्स क्लव अफ पोखरा सिटीद्धारा सो केन्द्रका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण एवम् घरेलु श्रमिक बालबालिकालाई शैक्षिक तथा सरसफाईका सामाग्री वितरण ग¥यो ।

सो अवसरमा ४५ जना जेष्ठनागरिकको मधुमेह रोग सहित स्वास्थ्य परिक्षण तथा निशुल्क औषधि वितरण गर्नुका साथै संस्थामा अध्ययनरत २५ जना घरेलु श्रमिक बालबालिकालाई आवश्यक शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

क्लवका अध्यक्ष निरज पन्तका अनुसार सत्संग सभा भवनका लागि आवश्यक कार्पेट, शैक्षिक सामाग्री र जेष्ठनागरिकको स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि वितरणमा एक लाख मुल्य बरावरको सहयोग गरेको हो ।

२०६८ सालको जनगणना अनुसार नेपालमा कूल जनसंख्याको ९ प्रतिशत अर्थात २५ प्रतिशत भन्दा बढी जेष्ठनागरिक रहेको तथ्याङ्क छ ।

नेपाल सरकारले बृद्धबृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुनिश्चिततालाई निरन्तरता दिँदै आएको छ । पछिल्ला दिनमा परिवार तथा समाजबाट जेष्ठ नागरिक अपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।

कमेन्ट गर्नुहोस्
Share: