
पोखरा । पोखरा बृद्धाश्रम द्वारा सञ्चालित ऋषि लिला पत्रकारीता पुरस्कार यो बर्षको लागि कास्कीका पुराना पत्रकार हरि बास्तोलालाई सिफारिस गरिएको छ ।
आश्रमद्वारा गठन गरिएको पत्रकारीता पुरस्कार छनौट समितिको बैठकले यो बर्षको ऋषि लिला पत्रकारीता पुरस्कार राष्ट्रिय समाचार समिति, पोखरामा कार्यरत बिगत ३० बर्ष देखि पत्रकारीता क्षेत्रमा क्रियाशील पत्रकार हरि बास्तोलालाई सिफारीस गरेको हो ।
नेपाल पत्रकार महासंघ कास्कीका पुर्र्व अध्यक्ष पुण्य पौडेल संयोजक, फेवा टेलिभिजन पोखराका कार्यकारी प्रमुख तथा बृद्धाश्रमका आजिवन सदस्य माधव पनेरु र रेडियो सफलताको प्रमुख दुर्गा अधिकारी सदस्य रहेको सिफारिस समितिले बास्तोलाको नाम सिफारिस गरेको संयोजक पुण्य पौडेलले जानकारी दिए ।
पत्रकारीता क्षेत्रमा तत्काल कृयाशिल रहेको र जेष्ठ नागरीक तथा सडक मानवहरुको बारेमा पत्रकारीता मार्फत आवाज उठाउने कार्यमा लागेको पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यविधि अनुसार परेका केही पत्रकारहरु मध्यबाट यो बर्ष बास्तोलालाई प्रदान गर्न सिफारिस भएको पौडेलले बताए । समितिको सिफारिस अनुसार आश्रमले निर्णय गरेर एक समारोहका बिचमा पुरस्कार अर्पण गर्ने आश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए । अध्यक्ष पराजुलीका स्व. मातापिताको स्मरणमा सो पुरस्कार स्थापना गरिएको हो ।
रु २० हजार राशिको उक्त पुरस्कारबाट यसअघि पत्रकार चट्याङ्ग मास्टर, दिपेन्द्र श्रेष्ठ पुरस्कृत भैसकेका छन् । बास्तोला यसअघि गजेन्द्र स्मृति सिर्जनशील पत्रकारीता पुरस्कार २०७३, आदित्यध्वज पत्रकारीता पुरस्कार लगायत एक दर्जन पुरस्कारबाट सम्मानित भैसकेका छन् ।
