अमेरिकी डिभी को आवेदन खुल्यो

Share:

पोखरा । सन् २०२२ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भीसा (डीभी) को आवेदन खुलेको छ । नेपाली समयअनुसार बुधबार राती ९ः४५ बजे (अक्टोबर ७, २०२० ) बाट आवेदन खुला भएको काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी दिएको हो।

बुधबारबाट खुला भएको डिभी कात्तिक २५ (नोभेम्बर १०, २०२०) मा बन्द हुने छ। दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ।

अमेरिकी दूतावासले डिभी चिट्ठा भर्दा कन्सल्टेन्टको सहयोग नलिन पनि आग्रह गरेको छ । अमेरिकी दुतावासले डिभी भर्न सहयोग चाहिएमा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिने आग्रह गरेको छ । सहयोग जसले गरेपनि आफ्नो आवेदनका स्वयं जिम्मेवार रहनुपर्ने दुतावासले भनेको छ ।

२०२२ का लागि नयाँ व्यवस्था अन्र्तगत मुख्य आवेदकको बहालवाला, म्याद नसकिएको, विदेश भ्रमण गर्न मिल्ने राहदानीको राहदानी सङ्ख्या, जारी भएको देश र म्याद समाप्त हुने मिति लगायतको जानकारी दिनुपर्नेछ ।

सन् २०२२ को डिभि चिट्ठाका लागि आवेदकहरूले फारम भर्न पाईने मिति भित्र www.dvlottery.gov  मा गई डिभी चिट्ठाको आवेदन फारम भर्नु पर्नेछ । फारम भर्दा आफ्ना श्रीमान श्रीमती र फारम भर्ने मिति कार्तिक २५ गते राति १०ः४५ बजे सम्म २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण अनिवार्य भर्नुपर्नेछ । श्रीमान, श्रीमती र सन्तानको विवरण नभरी पेश गरिएको आवेदन मान्य हुनेछैन । तपाईँले एउटा मात्र आवेदन फारम बुझाउनु पर्नेछ ।

एकभन्दा बढी आवेदन फारम बुझाउने आवेदक चिट्ठाका लागि अयोग्य ठहरिनेछ । अघिल्लो वर्षको डि.भी. भर्दा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । चश्मा लगाएर खिचिएको फोटो समेत स्वीकार्य हुनेछैन । डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ ।

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका २०७८ वैशाख २५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नुपर्ने छ। आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्ने छ। यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेल सूचना पठाइँदैन।

कमेन्ट गर्नुहोस्
Share: