
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
यही असोज १८ गते कोरोना सङ्क्रमण भई कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत लमजुङ, बेंसीशहर २ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्रा. डा अर्जुन आचार्यले जानकारी दिएका हुन् । उनका अनुसार संक्रमित पुरुषको मंगलबार दिउँसो ४ः२३ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
ती पुरुषमा कोभिड १९, मुटुको समस्या, मधुमेहको समस्या रहेको जनाइएको छ । कोभिड १९ पोजिटिभ भएर प्रतिष्ठानमा मृत्यु भएको उनी १२ औं व्यक्ति रहेको अस्पतालले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।
