
पोखरा । नेपालबाट मनसुन चार महिनापछि बाहिरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको जेठ ३० गते पूर्वबाट नेपाल भित्रिएको मनसुन शुक्रबार (अशोज ३० गते) बाहिरिएको हो ।
मनसुन भित्रिएयता लगातारजस्तो सक्रिय रहँदा यो वर्ष औषत भन्दा बढी वर्षा भएको मौसमविदले बताएका छन् ।
गएको जेठ ३० गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही भू–भागबाट अशोज १५ गते नै बहिर्गमन भएको थियो । अशोज ३० गते शुक्रबार अर्थात भित्रिएको चार महिनापछि देशको सम्पूर्ण भू–भागबाट यस वर्षको मनसुन बाहिरिएको हो ।
आजको मौसम पूर्वानुमान!
यस्तै शनिबार (आज) बिहान गण्डकी, प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहको महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति पनि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, बागमती र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
