बडादशैँ सुरुः आज घरघरमा घटस्थापना, शुभसाइत ११ बजेर ४६ मिनेटमा

501
0
Share:

काठमाडौँ । नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि शनिबार बिहान ११ बजेर ४६ मिनेटमा शुभसाइत तोकेको छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसँगै रोप्ने गरेका छन् ।

नवरात्रमा पूजा गरिने नौ देवीहरु

बडादशैँ का बेला नवदुर्गाको पूजा गरिन्छ । नौ दिनमा हरेक दिन छुट्टाछुट्टै देवीको पूजा अर्चना गर्ने चलन छ । विभिन्न दानवमाथि देवीले विजय प्राप्त गरेको खुसियालीमा दशैँ मनाउने गरिएको किंवदन्ती छ । विशेषगरी दुर्गा भवानीको नौरूप (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री)को पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।

दशैँ को पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्री देवीको पूजा गरिन्छ । शैलपुत्रीलाई हिमालय पर्वतकी पुत्री पार्वतीका रूपमा लिने गरिएको छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजाअर्चना गरि ने चलन छ ।

यसैगरी दोस्रो दिन ब्रम्चारिणीको पूजा गरिन्छ भने तेस्रो दिन पुजिने देवी चन्द्रघण्टा हुन् । यस्तै, चौथो दिन देवी कुष्माण्डको, पाँचौं दिन कुमार कार्तिकेयकी माता स्कन्दमाताको पूजा गरिन्छ ।

छैटांै दिन कात्यायनीको पूजा गरिन्छ भने सातौं दिन कालरात्रि देवीको पूजा गरिन्छ । कालो वर्ण भएकी कालरात्रि देवीको वाहन गधा हो भने देवीले क्रोधमा आगो निकाल्छिन् । चार हात भएकी देवीको चारै हातमा तरवार, मसाल र वरमुद्रा लिएकी हुन्छिन् । फूलपातीका दिन पुजिने देवी यिनै हुन् । यसैगरी, अष्टमीका दिन देवी महागौरीको पूजा गरिन्छ ।विजयादशमीको अघिल्लो दिन सिद्धिदात्री देवीको विशेष पूजा गर्ने चलन छ ।

टीकाको साइत कात्तिक १० गते १० : १९ बजे

दशैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।

कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः१९ बजेको साइत उत्तम छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । आजको दिन घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी बिसर्जन गरिन्छ ।

यसवर्ष कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ ।

ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा बडादशैँमा टीका थापेर आशीर्वाद ग्रहण गर्दा विशेष ध्यान पु¥याउन जरुरी रहेको भन्दै टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेको र यस वर्षको दशैँमा बसोबास रहेकै ठाउँमा घरपरिवारबीच मात्र मनाउन समेत अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: