
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ०.६ प्रतिशत हो ।
यसैगरी नेपालमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ हजार १६० महिला र २ हजार ७ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
थपिएका संक्रमित मध्य काठमाडौँ उपत्यकामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौँमा १४५१ जना, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना संक्रमित भेटिएका हुन् ।
योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १८ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० जना पुगेको छ। यो कुल संक्रमितमध्ये ६९.४ प्रतिशत हो ।
हाल देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्। आज १३ हजार २९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। देशभर २९० जना आइसियू र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। हाल क्वारेन्टीनमा रहनेको संख्या ४ हजार ७१५ छ।
२४ घण्टामा १५ हजार ४३८ परीक्षण भएको र हालसम्म १५ लाख ४३८ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
