
पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार बिहान प्रदेशको नवलपुरका १५ जना, तनहुँका २ जना र गोरखा जिल्लाका १ जना गरी १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नवलपुर गैंडाकोट वडा नं. १२ का ५५ वर्षीय पुरुष, वडा नं. ४ का ४२ वर्षीय पुरुष, वडा नं. ५ का ५२ र ४३ वर्षीया महिला, वडा नं.२ का ५६ र ५४ वर्षीय पुरुष, वडा नं.१३ का २७ वर्षीया महिला तथा २ र ८ वर्षका बालक सहित २३ र ४० वर्षीय पुरुष, बाकावासोती वडा नं. २ का २४ वर्षीय पुरुष, वडा नं.८ का ४२ वर्षीय पुरुष तथा मध्येविन्दु वडा नं. ८ का ३३ वर्षीय पुरुष र ६२ वर्षीया महिला रहेका छन् ।
यस्तै गोरखाको सुलिकोट वडा नं. ६ की २८ वर्षीया महिला, तनहुँको आबुखैरेनी वडा नं. १ की २२ वर्षीया महिला र देवघाट वडा नं. ८ की ७७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ५ पुगेको छ ।
हालसम्म प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ६ सय ७९ रहेको निर्देशनालयले जनाएको छ ।
