
पोखरा । गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
म्याग्दीका एक संक्रमित पुरुषको पोखरामा र नवलपुरका एक संक्रमित पुरुषको चितवनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा स्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत म्याग्दी जिल्लाको धौलागिरी ७ का ८५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
ती पुरुषको मंगलबार रातिको ८ः२५ बजे प्रतिष्ठानको कोभिड आई.सि.यु.मा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
यसैगरी चितवन स्थित चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (ब.सु.पू) जिल्लाको गैंडाकोट ७ का ५० बर्षीय कोरोना संक्रमितको पुरुषको पनि मृत्यु भएको छ ।
अस्पतालको कोभिड आई.सि.यु.मा उपचारकै क्रममा मंगलबार बिहान ९ः५६ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
हालसम्म मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका ११, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका २ जना छन् ।
