भारतीय नागरिकलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

358
0
Share:

काठमाडौँ । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् ।

भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा धनगढी उप–महानगरपालिका–१२ का वडाध्यक्ष गणेश प्रसाद जोशी पक्राउ परेका हुन्।

वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको प्रहरीले जनाएको छ ।

वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाएर वडाध्यक्ष जोशीले भारतीय नागरिक अन्सारीलाई सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जनाइएको छ ।

नक्कली बुवा बन्ने पुनिराम चौधरी फरार रहेका छन् भने उनका दाजु खुशीराम चौधरी र भाउजू भनेकी गीता चौधरीलाई छानबिनका लागि नियन्त्रणमा लिइएको छ।

भारतीय नागरिक अन्सारीले चौधरी परिवारलाई १ लाख रुपैयाँ दिएर आफ्नो परिवारका नक्कली सदस्य बनाएको प्रहरीले जनाएको छ ।

नागरिकताका लागि निवेदन माग गर्ने अन्सारी टीकापुर नगरपालिका– ७ मा बस्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष जिल्ला प्रहरी कार्यालयमै रहेको र यसबारे थप अध्ययन भैरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका वडाध्यक्ष जोशी नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन् ।

कमेन्ट गर्नुहोस्
Share: