
पोखराका प्रतिष्ठित उद्योगपति तथा प्रतिनिधि सभाका कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन भएको छ । उनको गएराती १०ः३० बजे पोखरा ७ एयरपोर्ट स्थित आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।
विगतमा मृगौला प्रत्यारोपण गरेका केसी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित थिए । सोमबार राति एक्कासी विरामी परेपछि चरक मेमोरियल अस्पताल लैजाँदै गर्दा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
राप्रपाका पूर्व केन्द्रीय कोषाध्यक्ष समेत बनिसकेका केसी ३ वर्षअघि गएको निर्वाचनमा नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद बनेका हुन् । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । उनी पोखरा नगरका तत्कालिन प्रधानपञ्च पनि हुन् ।
रारा चाउचाउको उत्पादक कम्पनी हिम श्री फुड्स प्रालिका सञ्चालक उनको एक दर्जन बढी हाईड्रोलगायतमा समेत ठूलो लगानी छ । उनी माछापुच्छ्रे बैंकका संस्थापकसमेत हुन् । केसीको सामाजिक, राजनीतिक र व्यवसायिक योगदान महत्वपूर्ण रहेको पाइन्छ ।
उनको आजै सेती नदीमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । उनको परिवारमा एक श्रीमती, तीन छोरा, तीन बुहारी र ६ जना नातिनातिना छन् । पोखराको वडा नम्बर १४ मा २०१४ जेठ १० मा केसीको जन्म भएको थियो ।
