गण्डकी प्रदेशमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम सुरु (फोटो सहित)

Share:

पोखरा । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले राजमार्ग तथा शहरी क्षेत्रमा सञ्चालन हुने गरी ‘चालकसँग १ मिनेट कार्यक्रम’ संचालनमा ल्याएको छ ।

सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखराले सडक प्रयोगकर्ता चालकहरुसँग १ मिनेट अभियानको सुरुवात गरेको हो ।

आज गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले पोखराको औधोगिक क्षेत्र स्थित व्यानर सहित विभिन्न सवारी साधनका चालकहरुसंग ट्राफिक सचेतना तथा कोरोना भाईरसको संक्रमणबाट बच्ने उपायहरु सम्बन्धि १ मिनेट सहजिकरण गरि उक्त अभियानको सुरुवात गरेका छन् ।

कोरोना महामारीको कुरालाई समेत मध्यनगर गर्दै कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट गण्डकी प्रदेशको ११ वटै जिल्लामा रहेको ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टले ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको हो ।

अभियान बारे बताउँदै गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔं, मोटरसाइकल र स्कुटर चालकले हेल्मट र हेल्मेटको फित्ता अनिवार्य लगाऔं, मादक पदार्थ तथा नसाजन्य पदार्थ सेवन गरी सवारीसाधन नचलाऔं र तिब्र गतिमा सवारी नचालाऔं भन्दै कार्यक्रममार्फत सचेतना फैलाइने बताए ।

उक्त अभियानसँग ट्राफिक प्रहरीको चालकमैत्री व्यवहार एवं कुशल कार्यदक्षता समेत जोडिएकाले यसबारे सन्तोषजनक प्रतिक्रियाहरु आईरहेको बताए । साथै अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरि राजमार्ग तथा ग्रामिण सडकहरुमा समेत आगामी दिनमा थप कडाईका साथ ट्राफिक नियमको पालना गराई सवारी दुर्घटना न्यूनिकरणका लागि आफूहरु अग्रसर रहने बताए ।

कमेन्ट गर्नुहोस्
Share: