
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृत्यु हुनेमा कास्कीको पोखरा महानगरका मात्रै ३ जना छन् भने एक जना स्याङ्जाका हुन् ।
निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका १ पुरुष र हस्पिटलमा उपचाररत २ सहित पोखरामा थप ३ जनाको मृत्यु भएको हो ।
कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका पोखरा १३ का ९२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा ८ का ६७ वर्षीय पुरुषको आइतबार बिहान १ः१६ बजे मृत्यु भएको छ । ती पुरुषमा कार्तिक १३ गते कोरोना पुष्टि भएको थियो ।
सोही अस्पतालमा उपचाररत पोखरा ९ की ७५ वर्षीया संक्रमित महिलाको पनि आइतबार मृत्यु भएको छ ।कार्तिक १८ गते कोरोना पुष्टि भई उपचाररत ती महिलाको आइतबार बिहान ५ः१५ बजे मृत्यु भएको हो ।
यसैगरी स्याङ्जा गल्याङ नगरपालिका ७ का ५० वर्षीय संक्रमित पुरुषको आइतबार बिहान ७ः४५ बजे मृत्यु भएको छ । कार्तिक १८ गते कोरोना पुष्टि भएका ती पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
