अब मानहुँकोट जान दैनिक ३०० जनालाई मात्रै अनुमति

Share:

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ मा रहेको पर्यटकीय स्थल मानहुँकोटमा दैनिक ३०० जनालाई मात्रै अनुमति दिइने भएको छ ।

एकाएक पर्यटकको संख्या अत्यधि बढेपछि दैनिक ३०० जनालाई मात्रै मानहुँकोट जान अनुमति दिने निर्णय गरिएको मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

आन्तरिक पर्यटक बढेपछि त्यसको व्यवस्थापनका लागि आइतबार मानहुँकोटमै नगरपालिकाको बैठक बसेको थियो ।

बैठकले कोरोना भाइरस (कोभिड(१९)को संक्रमण नियन्त्रणमा आइनसकेको बेला भिड बढेकोले त्यसको व्यवस्थापनका लागि रजिस्जेशन गरेर मात्रै पठाउने निर्णय गरिएको मेयर न्यौपानेको भनाइ छ । रजिस्टेशन शुल्क भने नलिइने उनले बताए ।

बैठकले मानहुँकोटको जग्गा खरिद-बिक्रीमा समेत रोक लगाएको छ । यसअघि स्थानीयले समेत छोडेको ठाउँमा पर्यटकको चहलपहल भएपछि व्यापारीले जग्गा किन्ने क्रम बढेपछि नगरपालिकाले पुस मसान्तसम्म जग्गा किनबेच गर्न रोक लगाएको हो ।

साथै, बैठकले तत्काल शौचालय निर्माण गर्ने, खानेपानी र सुरक्षाको व्यवस्थापन गर्ने र गुरुयोजना बनाएर मानहुँकोटको विकास गर्ने निर्णयसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: