
पोखरा । पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखराका विभिन्न हस्पिटलमा उपचाररत २ महिला तथा २ पुरुष गरी थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखराकी ८२ वर्षीया संक्रमित महिलाको आइतबार बेलुका ६:५० बजे पोखराको मणिपाल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ । ती महिलामा कार्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा १७ की ७४ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज, पोखरमा उपचारको क्रममा आइतबार बेलुका ६ः१८ बजे मृत्यु भएको छ । ती महिलामा आइतबार नै कोरोना पुष्टि भएको थियो । सोही अस्पतालमा उपचाररत पोखरा ११ का ६० वर्षीय पुरुषको सोमबार बिहान १०ः१३ बजे उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । ती पुरुषमा कार्तिक १६ गते कोरोना पुष्टि भएको थियो ।
यसैगरी पोखरा १० का ८६ वर्षीय पुरुषको आइतबार बेलुका ११ः४१ बजे फिस्टेल हस्पिटल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । ती पुरुषमा कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १११ पुगेको छ ।
