
पोखरा । कास्कीमा यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना जारी गरी देउसीभैला नखेल्न भनेको हो।
नजिकिदो तिहार, छठजस्ता पर्वमा आवागमन बढ्दा संक्रमणको जोखिम थप जटिल हुने अवस्थालाई मध्यनजर गदै देउसी भैलो खेल्न रोक लगाउनु परेको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनामा भनिएको छ ।
चाडपर्वहरु जो जहाँ छ त्यही मनाउन पनि आग्रह गर्दै जिल्ला भित्र कुनैपनि प्रकारका मेला, महोत्सव आयोजना नगर्न तथा व्यापारिक केन्द्रहरुमा भीडभाड नगर्न प्रशासनले अपिल गरेको छ ।
प्रशासनको सूचनामा आतसबाजी, पटाका, झिरझिरे, भुईंचम्पालगायतका विष्फोटकजन्य पदार्थहरुको ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्न, नगराउन समेत आग्रह गरेको छ । कोभिड–१९ को जोखिम कायम रहेकाले भौतिक दुरी कायम गर्न, मास्क र सेनिटाईजरको प्रयोग, पटकपटक साबुन पानीले हात धुन समेत आग्रह गरेको छ ।
सूचनामा उल्लेखित कुराहरुको अवज्ञा गर्ने गराउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानन बमोजिम कारबाही हुने जनाइएको छ ।

