
रौतहट। रौतहटमा गएराति एक युवतीको गोली प्रहार गरी हत्या भएको छ ।
जिल्लाको माधवनारायण नगरपालिका ७, लौकाहा टोलकी १८ वर्षीया अमृता कुमारी साहको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।
बुधबार राति ११ बजे घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार भएको र घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान जारी रहेको र हालसम्म कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
विवाहित अमृताको हत्या प्रेम सम्बन्धका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरिएको छ ।
अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका सोहन भन्ने रुपेश साहसँग मागी बिहे भएको थियो । तर साउन महिनामा सम्बन्ध विच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएको बताइएको छ।
गत वैशाख महिनामा उनका श्रीमान रुपेशमाथि पनि धारिलो चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रुपेश तीन महिनाको उपचारपछि निको भएका थिए ।
त्यसपछि २०७७ साउन २५ गते रुपेश र अमृताबीच जिल्ला अदालत मलंगवाबाट सम्बन्ध विच्छेद भएको थियो ।
