
पोखरा । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, हली र गोवर्द्धनको पूजा गरिँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ’माता’ कै रूपमा सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिइ दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको विज्ञले बताउँदै आएका छन् ।
गाईको पूजा गरी यस दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । यस दिन गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । त्यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ । आज गोवर्द्धन पहाडको प्रतिमा बनाएर गोवर्द्धन पूजासमेत गरिन्छ ।
आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ। देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमले जानकारी दिए।
म्ह पूजा (आत्म पूजा) भने कात्तिक ३० गते गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिको मत छ । आइतबार बिहान ११ः२७ बजेसम्म औंसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्ह पूजा यसै दिन गर्नुपर्ने जनाइन्छ । म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।
तिहारअन्तर्गत शनिबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिएको थियो ।
तिहारको मुख्य दिन सोमबार भाइटीका मनाइँदै छ । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ ।
