नेपाल संवत ११४१ सुरु, नयाँ वर्षको स्वागत गर्दै नेवार समुदायले बेलुकी म्हः पूजा गर्ने

Share:

काठमाडौँ । नेपाल संवतको नयाँ वर्ष ११४१ आजबाट सुरु भएको छ । नयाँ वर्षको स्वागत गर्दै नेवार समुदायले आज बेलुकी म्हः पूजा गर्दैछन् । हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो ।

यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । त्यसैले कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौँ उपत्यकामा छ ।

लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।

यस कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विक्रम संवत् २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

नेपाल संवतको नयाँ वर्ष ११४१ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले शुभकामना व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: