
पोखरा । कास्कीको पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको छ ।
महानगरपालिकाले शुक्रबार सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मंसिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ ।
महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरीबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७/२८ जना कर्मचारी कोभिड–१९ संक्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको जनाइएको छ ।
महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ ।
यसैगरी महानगरपालिकाको पशु सेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कर्मचारीमा कोरोना सङ्क्रमण र अन्य कन्ट्याक ट्रेसिङका परेका कारण सेवा बन्द गरिएको जनाइएको छ ।
