
पोखरा । देशका पहाडी क्षेत्रमा शनिबारको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभए पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भएको मौसमविदले बताएका छन् ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।
यस्तै राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ ।
देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
