
चितवन । बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जना नदीमा पौडिएर निस्किन सफल भएका छन् ।
प्यूठानबाट बिरामी लिएर काठमाडौँ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना–४ बाट बिहीबार बिहान साढे पाँच बजे त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का पौडिएर निस्किन सफल भएका छन् । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पूरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
बेपत्ता हुनेहरुमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चालकसहित चार जना मात्र सवार उक्त पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।
बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ ।
