
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार (आज) थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अन्तर्गत ९ वटा जिल्लाका १३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ६९ जना, स्याङ्जाका १९ जना, बाग्लुङका १० जना, गोरखा र नवलपुरका ९/९ जना, पर्वतका ८ जना, तनहुँका ६ जना, लमजुङका २ जना तथा म्याग्दीका १ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६८६ पुगेको छ ।
यस्तै आज प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भई चरक मेमोरियल अस्पताल पोखरामा उपचाररत पोखरा–२ का ५९ वर्षीय पुरुषको मंसिर १० गते बुधबार उपचारकै क्रममा मृत्यु भएको हो ।
मंसिर ५ गते नै कोरोना पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–३२ की ६६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
यसैगरी गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत पोखरा–७ की ७६ वर्षीया महिलाको शुक्रबार बिहान ७ः३० बजे उपचारकै क्रममा मृत्यु भएको हो । ती महिलामा मंसिर ८ गते कोरोना पुष्टि भएको थियो ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. २ की ५८ वर्षीया महिलाको शुक्रबार दिउँसो १ः३० बजे मृत्यु भएको हो । ती महिलामा मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।
गण्डकीमा पछिल्लो २४ घण्टामा ११९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या ६८५८ पुगेको छ ।
हाल प्रदेशमा ४ हजार ६७९ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६१५ परिक्षण भएको र हालसम्म १ लाख ७ हजार ६०५ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
