
पोखरा । राम्रो काममा लगाइदिने भन्दै जबर्जस्ती यौन शोषण गराएको अभियोगमा पोखरा जाल्पारोड स्थित एक खाजा घरका सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका–३ घर भइ हाल पोखरा महानगरपालिका–९ जाल्पारोडमा खाजाघर संचालन गर्दै आएका ३४ वर्षीय केशव भुजेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भुजेलले आफ्नो खाजाघरमा राम्रो काममा लगाइदिने भन्दै एक युवतीलाई सुरुमा राम्रै व्यवहार गर्नुका साथै खाजा नास्ता बितरणको काममा लगाए थिए । तर, काम शुरु गरेको एक दुई दिन पछि नै युवतीलाई डर धाक धम्की देखाउँदै आउने ग्राहकहरुसँग पैसा लिएर जबर्जस्ती यौन सम्पर्कमा सम्लग्न लगाउने तथा अन्यन्त्र होटलहरुमा समेत जबरजस्ती पठाइ यौन शोषण गराउँदै आएका थिए ।
भुजेलको उक्त कार्य विरुद्ध परेको जाहेरीका आधारमा उनलाई सोही खाजा घरबाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका भुजेल विरुद्ध मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट दश दिनको म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
