
धनगढी । कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १३ जना घाइते भएका छन् ।
भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा हुँदा बेहुला–बेहुलीसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिकाकी १९ बर्षीया दुलही डम्मरा लावड भएका छन् ।
त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार–६ बस्ने २० वर्षीय अर्जुन लुहार, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका–३ का ७ वर्षीय प्रदीप चौधरी, सोही ठाउँका २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, दोगडाकेदार गाउँपालिका–६ का ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका–३ का २१ वर्षीय राजु कार्की र चालक वीर बहादुर सार्की घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते १३ मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेको अत्तरियाको पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
