
काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै १२ हजार ६४३ संक्रमितको मृत्यु भएसँगै विश्वमा मृतक संख्या १५ लाख ११ हजार ७ सय ८१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ६६ हजार ६३० जना संक्रमित भएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ५५ लाख ३१ हजार ३ सय ९५ पुगेको छ ।
हालसम्म विश्वमा ४ करोड ५३ लाख ७४ हजार ४ सय २७ कोरोना संक्रमित निको भइसकेका छन् ।
सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ८२ हजार ८ सय २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक करोड ४५ लाख ३५ हजार १ सय ९६ पुगेको छ ।
त्यस्तै दोस्रो प्रभावित मुलुक भारतमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३९ हजार २ सय २७ पुगेको छ भने संक्रमितको संख्या ९५ लाख ७१ हजार ७ सय ८० पुगेको छ ।
