हुर्जा गण्डकीद्वारा विविध कार्यक्रम तय

Share:

पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले मानवअधिकार दिवस केन्द्रित विविध कार्यक्रम तय गरेको छ ।

हुर्जा गण्डकीको हालै सम्पन्न बैठकले मानवअधिकार दिवसका दिन कोरोनाका कारण दिवंगत भएकाहरुको आत्माको चिरशान्तिका लागि दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको संस्थाका महासचिव सुशील श्रेष्ठले जानकारी दिए ।

कोरानाले निम्त्याएको कहरले आम जनसमुदाय घरमै कैद हुनु परेको अवस्थामा उनीहरुलाई सिर्जनशील बनाएर समय व्यतित गराउन सहज होस् भन्ने उद्देश्यले हुर्जाले महिला हिंसा विरुद्धको १६ दिने अभियान, विश्व अपाङ्ग दिवस, मानवअधिकार दिवस जस्ता विविध दिवस लक्षित गरेर अनलाइन मुक्तक प्रतियोगितासमेत आयोजना गरेको कार्यक्रम संयोजक कृष्ण अञ्जान ज्ञवाली बताउँछन् ।

संघले सुरभी सन्देश र सक नेपालको समन्वयमा अनलाइन मुक्तक प्रतियोगिता आयोजना गरेको निवर्तमान अध्यक्ष राजेश पराजुलीले जानकारी दिए ।

संघले तीन हप्तासम्म प्राप्त मुक्तकबाट हरेक हप्ता पहिलो चरणमा उत्कृष्ट १० मुक्तक छनौट गर्ने र उत्कृष्ट १० बाट पनि उत्कृष्ट तीन–तीन गरी उत्कृष्ट ९ बाट अन्तिममा विजेता घोषणा गर्ने कार्यक्रम संयोजक ज्ञवाली बताउँछन् ।

मुक्तक प्रतियोगिताका लागि एक स्रष्टाले सुरभी सन्देश, सक नेपाल अथवा हुर्जा गण्डकीको इमेल ठेगाना hurjagandaki2066@gmail.com मा अधिकार केन्द्रित दुई मुक्तक पठाउन सकिने जनाइएको छ ।
संघले निकट भविष्यमै विभिन्न अधिकार केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम, विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने सत्यता ख्वाउजुले बताइन् ।

मानवअधिकार उल्लङ्घन विरुद्ध सञ्चार अभियान नाराका साथ दशक अगाडिदेखि अधिकारका क्षेत्रमा क्रियाशील हुर्जा गण्डकीले यशकुमारी जिसी मानवअधिकार पुरस्कार, अधिकारकेन्द्रित पत्रकार, महिला अधिकारकर्मी, समाजसेवी, बालअधिकारकर्मी, अधिकारकर्मी संस्थालाई स्थानीय तथा प्रदेशस्तरमा सम्मान पुरस्कार अर्पण गर्दै आएको छ । संघको मुखपत्र मानवअधिकार आवाजका हालसम्म आठ अङ्कसमेत प्रकाशन भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: