
पोखरा । आइतबार कास्कीका ६५ सहित गण्डकी प्रदेशमा थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ९५ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज कास्कीका मात्रै ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पोखरा महानगरपालिकाका ६२ जना छन् भने रुपा गाउँपालिकाका ३ जना छन् ।
यस्तै, नवलपुरका १४ जना, तनहुँका ९ जना, स्याङ्जाका ३ जना, म्याग्दीका २ जना तथा लमजुङ र गोरखाका एकएक जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ६९३ पुगेको छ ।
गत २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका दुई पुरुष तथा एक महिला र लमजुङकी एक महिला रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ७५ वर्षीय संक्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान १०ः४५ बजे मृत्यु भएको छ । ती पुरुषमा मंसिर १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कास्कीको पोखरा महानगरपालिका वडा नं.१७ का ३४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । ती पुरुषमा मंसिर ७ गते कोरोना पुष्टि भएको थियो ।
पोखरा–१७ कै ६६ वर्षीया कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ०५ः२१ बजे मृत्यु भएको छ । ती महिलामा मंसिर १५ गते कोरोना पुष्टि भएको थियो ।
मणिपाल शिक्षण अस्पताल पोखरामै उपचाररत लमजुङको बेशीसहर नगरपालिका–११ की ४३ वर्षीया महिलाको पनि मृत्यु भएको छ । मंसिर ९ गते कोरोना पुष्टि भइ उक्त अस्पताल उपचाररत ती महिलाको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७० पुगेको छ ।
हालसम्म प्रदेशमा ७ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै ११२ जना संक्रमणमुक्त भएका छन् ।
हाल प्रदेशमा ५ हजार ११९ सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा ५३५ परिक्षण भएको र हालसम्म १ लाख ११ हजार ५९८ परिक्षण भएको छ ।
