आज बालाचतुर्दशी पर्वः पशुपतिमा मेला नलाग्ने

Share:

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरेर मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि सुरु हुँदैछ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष कोरोना संक्रमणको डरले पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न सकिने कोषले जनाएको छ ।

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बालेर भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा रही आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: