
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित श्रवण कुमार गृह जेष्ठ नागरिक सेवा केन्द्रको शनिबार शिलान्यास गर्दै उनले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिवद्ध रहेको बताए ।
प्रदेश सरकारले जेष्ठनागरिक तथा अपाङ्ग भौतिक संरचना निर्माणमा जोड दिंदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलव्धी मूलक हुने विश्वास व्यक्त गरे ।
सरकार सडक मानव रहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उनले त्यसका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे ।
कोरोना भाइरस कोभिड–१९को उपचारमा तीनै तहका सरकार जिम्मेवार भएर लागेको बताउँदै उनले सरकारी अस्पतालले निशुल्क उपचार गर्दा पनि कतिपय विरामीलाई परिवारले नीजि अस्पतालमा लैजाने गरेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सरकार जेष्ठनागरिक प्रति गम्भीर रहेको उल्लेख गर्दै आगामी दुई बर्षभित्र जेष्ठनागरिक भत्ता पाँच हजार पुग्ने विश्वास व्यक्त गरे । उनले दिवा सेवा केन्द्र सञ्चालनमा आएपछि एक बर्षसम्म बुबाआमालाई आफ्नो तर्फबाट खाजाको व्यवस्था गर्ने जानकारी दिए ।
अर्का प्रदेश सभा सदस्य विन्दु थापाले समाजका जेष्ठनागरिकलाई घर घरमा दिनु पर्ने व्यवहार यथेस्ट नपुगेको बताउँदै दिवा सेवा केन्द्र सञ्चालनमा आएसँगै उनीहरुलाई केही हदसम्म भएपनि सुविधा पुग्ने बताए ।
प्रदेश सभा सदस्य प्रभा कोइरालाले आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार १५५ रुपैयाँ अक्ष्यकोषको लागि प्रदान गर्ने घोषणा गर्दै प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रमबाट पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु मिना गुरुङ र पुष्पा केसी भण्डारीले जेष्ठनागरिक सेवा केन्द्र निर्माणमा सरकारी तथा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिसीले विगत लामो समयदेखिको अथक प्रयासबाट केन्द्र निर्माण कार्य अघि बढेको बताउँदै जनताले तिरेको करबाटै महानगरले विकासमा खर्च गर्दै आएको बताए ।
कार्यक्रममा केन्द्रको निरन्तरताको लागि समितिले सञ्चालन गरेको अक्षयकोषमा जम्मा हुने गरि राजेश गुरुङले एक लाख, लोक बहादुर थापाले रु. ५० हजार र कार्य समितिको तर्फबाट १२ लाख रुपैयाँ गरि कूल १४ लाख रुपैया जम्मा भएको अध्यक्ष दान बहादुर बानियाँले जानकारी दिए ।
बडहर बोटस्थित सार्वजनिक जग्गामा कूल तीन लाखको लागतमा तीन तल्ले पक्की भवन निर्माण गरिने छ । जसको पहिलो तल्लामा जेष्ठनागरिकको स्वास्थ्य परिक्षण, अध्ययन स्थल र भान्छा रहने छ भने दोश्रोमा प्रवचन तथा योगा हल तथा तेश्रो तल्लामा कार्यालय स्थापना गरिने बताइएको छ ।
आगामी दुई बर्ष भित्र निर्माण सम्पन्न गरि सञ्चालन गरिने सो भवनका लागि प्रदेश सरकारबाट एक करोड, पोखरा महानगरपालिकाबाट एक करोड र संघीय एवम् प्रदेश सभा सदस्यहरुबाट समेत सहयोग हुने आश्वसन प्राप्त भएको संस्थाका सचिव दिनेश श्रेष्ठले जानकारी दिए ।
