कांग्रेसले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

Share:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । सरकारका काम कारबाहीका विरुद्ध कांग्रेसले ७७ जिल्लामा नै प्रदर्शन गर्न लागेको हो ।

तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि आक्रोशित बनेको कांग्रेस सडकमा उत्रिएको हो। देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको कांग्रेसको भनाइ छ ।

आज हुने विरोधका कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । जस अनुसार सभापति शेरबहादुर देउवाले मकवानपुरमा उपस्थित हुनेछन् ।

यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौँमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा.रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्कीमा हुने विरोध सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

कोरोना संक्रमणको उच्च जोखिमका बीच गर्न लागिएको प्रदर्शनमा स्वास्थ्य सतर्कताका मापदण्ड अनिवार्य पालना गर्न पनि कांग्रेसले कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: