
पोखरा । पोखरा चेम्बर अफ कास्कीले आवश्यक पूर्वाधारको निर्माण विना पार्किङ शुल्क नउठाउन आग्रह गरेको छ ।
चेम्बरले पोखराको लागि व्यवस्थित पार्किङको लागि जग्गा व्यवस्थापन गर्न पोखरा महानगरपालिकासँग माग गरेको छ ।
चेम्बरका महासचिव उमराज बास्तोलाले पार्किङलाई व्यवस्थित गर्न निजीक्षेत्रसँग सहकार्य गर्न अपिल गरेका छन् । कोरोना भाइरसको प्रकोप तथा लकडाउनका परेका व्यवसायीलाई राहातको व्यवस्था गर्नु पर्ने उल्लेख गर्दै विज्ञप्तिमाव्यक्तिको घर तथा व्यवसायीको पसल अगाडी पार्किङ शुल्क तिर्नु पर्ने व्यवस्था अव्यवहारिक भएको प्रतिक्रिया दिएको छ ।
पोखरा महानगरले घोषणा गरेको स्मार्टसिटीको लागि पार्किङ शुल्क उठाउने विषय नसुहाउने भएको दाबी गर्दै विज्ञप्तिमा सर्वोच्च अदालतले पार्किङ शुल्क नउठाउन आदेश दिएको उल्लेख गरिएको छ । चेम्बरले पार्किङ शुल्क मंहगो भएको जनस्तरबाट गुनासो आएको जनाएको छ । पोखरा महानगरपालिकाले २ वर्षसम्म रोकिएको सशुल्क पार्किङको व्यवस्थापन निजी कम्पनीलाई दिएको छ ।
ठुला सवारी साधनलाई प्रति घण्टा ३० रुपैयाँ लाग्ने छ । मझौला सवारी साधनमा मुख्य सडक क्षेत्रमा ३० रुपैयाँ प्रतिघण्टा, हलुका सवारी साधनमा २० रुपैयाँ प्रति घण्टा शुल्क लाग्नेछ । मोटरसाइकल र स्कुटरमा भने १० रुपैयाँ प्रतिदिन लाग्ने व्यवस्था गरिएको छ ।
