
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव पर्सी ७ गते बोलाइएको केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरू भने सहभागी भएका थिएनन् । भोलि सांसदहरूसँग छलफल गरेर र पर्सी केन्द्रीय कमिटी बैठकमा यस विषयमा थप छलफल गरिने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको छ । यसको राजनीतिकसँगै कानुनी उपचार खोज्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
ओलीले आइतबार मन्त्रिपरिषदको बैठक मार्फत संसद विघटनको निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
साथै, सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।
