आज पुस पन्ध्रः धान्यपूर्णिमा, योःमरी पुन्ही, उधौली र तमु ल्होसार मनाइँदै

Share:

पोखरा । आज बुधबार पुस १५, धान्यपूर्णिमा, योःमरी पूर्णिमा, उधौली र ल्होसार पर्व आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइँदै छ ।

सामान्यतया मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

मंसिर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने चलन छ ।

आजकै दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने गर्छन् । प्रकृतिपूजक किराँतहरूले यही दिनलाई उधौली पर्वका रुपमा मान्ने गर्छन् भने पहाडी भेगका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुल पूजा गर्छन् ।

त्यसैगरी गुरुङहरू समुदायले ल्होछार अर्थात् नयाँ वर्ष मनाउँदैछन् ।

नेवार समुदायमा योःमरी पुन्ही

नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योःमरी पूर्णिमा मनाउँदैछन् । योःमरी पूर्णिमालाई योःमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ ।

योःमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योःमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ।

किराँत समुदायमा उधौली पर्व

आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम मधामसँग मनाइँदैछ । तीन दिनअघि सुरु भएको पर्वको पहिलो दिन लिम्बुहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किराँत पर्व मनाउछन् ।

किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौली अर्थात् यावा पर्व मनाइने चलन छ ।

वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।

गुरुङ समुदायको ल्होसार (नयाँ वर्ष)

आज गुरुङहरूले ल्होछार अर्थात् नयाँ वर्ष मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

व्यक्त गर्नुभएको छ । कोभिड(१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिमा पूर्वसावधानीका उपाय अवलम्बन गरी चाड मनाउन हुन उहाँले सबैमा आह्वान गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
Share: