
पोखरा । गण्डकी प्रदेशमा आइतबार (आज) थप २९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका २ वटा जिल्लाका २९ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै २८ जना छन् भने तनहुँका १ जना छन् । कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ६९९ पुगेको छ ।
यस्तै, पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका ७ की ८२ वर्षीय महिलाको शनिबार बेलुका ७ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
ती महिलालाई पुष १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित महिलामा कोभिड सँगै न्युमोनियाको समस्या रहेको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा गण्डकी प्रदेशभरबाट ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार ६२७ पुगेको छ ।
हाल गण्डकीमा ८७९ सक्रिय संक्रमित रहेका छन् ।
