
गोरखा। नेपाली सेनाले मंगलबार (आज) देखि गोरखाबाट काठमाडौँसम्मको पदयात्रा शुरु गरेको छ ।
नेपाल एकिकरणको समयमा गोरखादेखि पृथ्वी नारायण शाहले काठमाडौँसम्म हिँडेको बाटो हुँदै नेपाली सेनाले पदयात्रा शुरु गरेको हो ।
आज गोरखा दरबारस्थित हनुमानभञ्ज्याङबाट सुरु भएको यात्रा धादिङ–नुवाकोट–काठमाडौँको पैदलमार्ग हुँदै पुस २७ गते हनुमानढोका पुगेर टुंगिने छ ।
नेपालको राष्ट्रिय झण्डा, टर्च, नेपाली सेनाको पाँच प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज)को झण्डासहित टोलीले पदयात्रा सुरु गरेको हो । सेनाका यी पाँच कम्पनी पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ ।
आज गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याएको टर्च र झण्डा धादिङको बोर्लाङघाटमा आएर धादिङ स्थित नेपाली सेनाको श्री देवीदत्त गणलाई हस्तान्तरण गर्नेछ ।
त्यसपछि श्री देविदत्त गणको टोलीले धादिङको बुङकोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे, चरङगे पौवा, चरङ्गे, कटुन्जे, पन्ध्रकोषे, थर्पु हुँदै भ-याङभुरुङ सम्मको करिब ४२ किलोमिटर दुरी पार गरी नुवाकोटमा रहेको श्री जबरजंग गणलाई हस्तान्तण गर्नेछ ।
नुवाकोटको जबरजंग गणले काठमाडौँको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौँ पुग्छ ।’ टर्च र झण्डा सहित काठमाडौँको पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताईएको छ ।
गत वर्षदेखि सेनाले शुरु गरेको उक्त पदयात्रा गोरखा नगरपालिकाको सहकार्यमा मनाउन थालिएको हो ।
