सोलुखुम्बुमा टिपर दुर्घटनाः तीन जनाको मृत्यु, एक गम्भिर घाइते

Share:

काठमाडौँ । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भिर घाइते छन् ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ बरडाँडा र नेचासल्यान गाउँपालिकाको सीमानाको महादेव भीरमा बा ४ ख ७९८० नम्बरको टिपर आइतबार राति ११ बजे दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् ।

उनलाई सडकबाट लगभग एक सय मिटर तल भेटिएको टिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा उद्धार गरिएको थियो । चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना हाइड्रोपारका कामदार भएको प्रहरीले जनाएको छ ।

८६ मेगावाटको सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि सामान लिएर गएको टिपर दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: