कोरोनाः सोमबार गण्डकीमा थप २५ जनामा संक्रमण, २ को मृत्यु पुष्टि, १०२ संक्रमणमुक्त

Share:

पोखरा । सोमबार पोखराका १७ सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका २५ जनामा कोरोना देखिएको जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १७ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ र तनहुँका ३/३ जना तथा नवलपुरका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार १८९ पुगेको छ ।

यसैगरी, सोमबार गण्डकीमा थप २ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत कास्कीका एक पुरुष र तनहुँकी एक महिलाको आइतबार मृत्यु भएकोमा निर्देशनालयले सोमबार मृत्यु पुष्टि गरेको हो ।

कास्की पोखरा–८ का ७३ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार दिउँसो १ः४० बजे मृत्यु भएको हो ।

ती पुरुषमा पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणसँगै निमोनिया समेत रहेको जनाइएको छ ।

यता, तनहुँको भीमाद नगरपालिका–६ की ५० वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा आइतबार राति १०ः३० बजे मृत्यु भएको हो ।

ती महिलामा पुस २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणसँगै प्रेसर, सुगरलगायतको समस्या समेत रहेको थियो ।

यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९९ पुगेको छ ।

हालसम्म गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ५२४ पुगेको छ । गत २४ घण्टामा मात्रै प्रदेशभरबाट थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल प्रदेशभर ४६६ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार प्रदेशभर गत २४ घण्टामा १३९ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २४ हजार ४५१ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: