
काठमाण्डौ । मुलुक र जनताको हकअधिकारका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइँदैछ।
आजदेखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । विसं २०१२ देखि नै काठमाण्डौ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
यस वर्ष पनि महानगरपालिकाले चार सहिदलाई मृत्युदण्ड दिइएको स्थानमा गएर श्रद्धाञ्जलि कार्यक्रम गर्नाका साथै प्रभातफेरी आयोजना गर्ने भएको छ ।
सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले तत्कालीन निरंकुश जहानियाँ राणा शासन अन्त्यको अभियानमा समाहित भई प्राण आहुति दिएका थिए । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।
सप्ताहको आज पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरिँदै छ ।
यस्तै १३ गते बिहान आठ बजे सिफलमा रहेको धर्मभक्त माथेमा फाँसी दिइएको ठाउँ र १५ गते बिहान आठ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानिएको शोभा भगवतीमा श्रद्धाञ्जलीसभा गरिने महानगरपालिकाले जनाएको छ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् सहिद दिवसका दिन माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ ।
लैनचौरमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सहभागी हुने महानगरपालिकाले जनाएको छ ।
