
पोखरा । १ अर्ब ६० करोड ५० लाखको लागतमा पोखराको लेखनाथस्थित तालचोक देखि बेगनासताल सम्मको सडक विस्तार हुने भएको छ । प्रतिकिलोमिटर लागतको आधारमा यो सडक सबैभन्दा महँगो हुनेछ ।
विश्व बैँकको आर्थिक सहयोगमा बन्न लागेको उक्त सडकको डिपिआर समेत तयार भैसकेको पोखरामा बुधबार आयोजित कार्यशालामा जानकारी गराइएको हो । ३.२८ किलोमिटरको उक्त सडकचार लेनको हुनेछ । सडक दाँयाबायाँ साइकल ट्र्याक, पैदलमार्ग, व्यवस्थितनाला, हरियाली, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राखिने प्रोजेक्ट इन्जिनियर नवराज बोहोराले जानकारी दिए । सडकमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वर्षौँदेखिको सपना पूरा हुन लागको भन्दै उक्त सडक महानगरको नमुना र गौरवको सडक बन्ने बताए । लामो समयको प्रयासपछि विश्व बैकको सहयोगमा पोखरामा पहिलो काम हुन लागेको भन्दै मेयर जिसीले कुनैपनि हालतमा समयमै काम पूरा गर्नुपर्ने चुनौती रहेको बताए । निकै महँगो मुल्यमा बन्न लागेको उक्त सडक निर्माणपछि बेगनास ताल क्षेत्रको पर्यटकीय सम्भावना समेत बढेर जाने उनको भनाई छ ।
बाटो विस्तार गर्ने क्रममा खानेपानी, विद्युत र टेलीफोनको स्थान्तरणको कार्यमा सम्बन्धित कार्यालयहरुले महानगरको सर सल्लाहमा मात्र गर्नुपर्ने उनले बताए । उक्त क्षेत्रमा सडक विस्तार हुँदैछ भन्ने जानकारी पाउँदापाउँदै विद्युतका पोल गाड्ने लगायतका काम जारी रहेको भन्दै मेयर जिसीले समन्वयको अभावमा काम गर्न कठिन हुने बताए । महानगर सँग सोधपूछ नगरी मनोमानी ढंगले काम नगर्न उनले चेतावनी दिए ।
महानगरले निर्माण गरेका संरचना प्रयोग गर्दा टेलीकम, विद्युत र खानेपानीले समेत महानगरलाई कर तिनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत महेश बरालले आयोजनाको लागत नबढ्ने गरी काम गर्न आग्रह गरे । यस आयोजनामा शहरी विकास मन्त्रालयसँग पनि सम्झौता गरेर कार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
महानगरको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै बरालले निर्माण कार्य समयमै पूरा गर्न सक्नुपर्नेमा जोड दिए । बैदेशिक सहायतामा निर्माण गरिने सडक भएकाले निर्माण सम्पन्न हुँदा डिपिआरमा तोकिए भन्दा गुणस्तरमा कुनै कमि आउन नहुने बताए ।
सो अवसरमा ईन्जिनियर हेमन्त काफ्ले, र नवराज बोहोराले सहभागिहरुले राखेका विभिन्न जिज्ञाशाहरुको जवाफ दिए ।
नेपाल शहरी प्रशासकीय तथा पूर्वाधार आयोजनाका परियोजना निर्देशक परिक्षित कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर मन्जुदेवी गुरुङ, पोखरा महानगरका शहरी योजना आयोगका सदस्य आर्किटेक्ट बाबुराम भण्डारी, बरिष्ठ ईन्जिनियर शारदा मोहन काफ्ले लगायतको सहभागिता थियो ।
