
पोखरा । पोखराको टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको वन्यजन्तुको अखेटोपहार फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार यही माघ ९ गते राति पोखरा–१५ स्थित संस्थानको प्रयोगशाला भित्रबाट चोरी भएका जङ्गली जनावरको हाडछाला र अखेटोपहार ४०० मिटर पश्चिम तर्फ बनपाले जंगल घाटको पधेरोमा फेला परेको हो ।
प्रहरीले खोजतलास गर्ने क्रममा मंगलबार उक्त स्थानबाट प्लास्टिक, जुटको बोरा र पछाडि बोक्ने कालो झोला भित्र बेवारिसे अवस्थामा चितुवाको छाला ४ थान, चितुवाका दाँत, हाड र अखेटोपहार, चित्तलको सिङ २ थान तथा अन्य हाड अखेटोपहार फेला परेको परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
बेवारिसे अवस्थामा फेला परेका उक्त सामाग्रीहरू चोरी गर्ने व्यक्तीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
