
पोखरा । भात नपकाएको विषयमा झगडा हुँदा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको खुलेको छ ।
पर्वत जलजला गाउँपालिका ७ धाईरिङ स्थायी ठेगाना भई पोखरा–३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनले नै ४२ वर्षीया श्रीमती हरिमाया पुनको हत्या गरेको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले हत्यामा संलग्न पुनलाई शुक्रबार बिहान पक्राउ गरेको जानकारी दिएको छ ।
आरोपित पुनले प्रहरीको प्रारम्भीक अनुसन्धानमा बिहीबार राति करिब ८ बजे खाना नपकाएको निहुँमा पत्नीसँग झगडा हुँदा टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको बयान दिएका छन् ।
शुक्रबार बिहान हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको सुचना आधारमा तत्काल ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाको नाकबाट प्रहरी अधिकृत समेतको टोली खटिई गई घटना स्थलको अनुसन्धान एवम् मुचुल्का समेतको कार्य गरी मृतक शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरामा लगिएको प्रहरीले जनाएको छ ।
लामगादी कृषि फर्ममा ज्यालादारी मजदुरी गर्ने गमबहादुर शुक्रबार बिहान सोहि ठाउँबाट पक्राउ परेका थिए ।
प्रहरीका अनुसार पुनविरुद्ध कास्की जिल्ला अदालतमा ज्यान मुद्दा दर्तागरी १० दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।
सम्बन्धित न्युजः
पोखरामा आफ्नै सुत्ने कोठामा महिला मृत फेला, श्रीमान नियन्त्रणमा
